Header Ads

कोरियाले बर्बाद बनाएको जिन्दगी !!!



  • पुष्पराज लामिछाने, दक्षिण कोरिया
जिन्दगीले यसरी धोका दियो कि, भाग्य आफनो हो,, बुझ्नै सकिन
समय यसरी बदली दियो की, बाटो आफ्नो हो,, चिन्नै सकिन….
गायक रामकृष्ण ढकालले गाएको गीत झैं सुन्दर सपना बोकेर सात समुद्रपारी पुगेका कतिपय हाम्रा चेलीहरुलाई आफ्नै भाग्य बुझ्न नसकिने गरी जिन्दगीले धोका दिएको छ । धेरै पैसा कमाएर सुन्दर भविष्यको कल्पना गर्दै दलालबाट कोरियामा बेचिन पुगेका केही नेपाली चेलीहरुको कारुणिक अवस्था बेलाबेलामा मिडिया नआएका होइनन् । तर, पैसाको लोभमा आफ्नो जिन्दगीलाई दाउमा लगाएर म्यारिज ब्युरोमार्फत् म्यारिज भिषामा कोरिया भित्रने नेपाली युवतीहरुको संख्यामा कमी आएको छैन ।
पछिल्लो पटक नेपाल सरकार र कोरियन सरकारले अन्तरदेशिय विवाहमा केही कडा नियम राखेपछि कोरियन नागरिकसँग विवाह गरेर कोरिया आउने युवतीहरुलाई काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा कडा जाँचबुझ गरी फर्काउन थाले पछि दलालले भारतको बाटोबाट नेपाली चेलीलाई कोरिया पठाउदै आएको छ ।
हुनत कोरियन नागरिकसँग विवाह गर्ने हरेक नेपाली चेलीले दुःख पाएका छैनन् । घरजम गर्ने सोचले सबै बुझेर आएकाहरुको दाम्पत्य जीवन राम्रोसँग चलिरहेको छ तर जो पैसा कमाउने अनि मोजमस्तीको जिन्दगी जिउने चाहनाले विवाह जस्तो पवित्र सम्बन्धलाई कोरिया छिर्न पाउने माध्यमको रुपमा अपनाएर आएका छन् उनीहरु मध्ये अधिकांशले दुःख र कष्टको जिन्दगी जिउनु परेको छ ।
त्यसो त फरक भाषा, फरक संस्कृति र फरक जीवनशैली भएको मुलुक कोरियामा सुरुमा एडजस्ट हुनु धेरै गाह्रो हुन्छ । त्यहिमाथि १० देखि ४० वर्ष उमेरको अन्तर भएको श्रीमानसँग न त सोच नै मिल्छ न बिचार । भाषा र उमेरको अन्तरले गर्दा पनि दाम्पत्य जीवनमा दरार उत्पन्न हुनु स्वभाविकै हो । त्यसैले पनि कोरियन नागरिकसँग विवाह गरेर आएका धेरैजसो नेपाली चेलीहरुको अवस्था दयनीय रहेको छ ।
यिनै मध्येका एक नेपाली चेली हुन्, रिना मगर (नाम परिवर्तन) । आठ वर्ष अघि आफुभन्दा चारदशक पाका कोरियन नागरिकसँग विवाह गरेर कोरिया आएकी रिना केही समय अघि नेपाल फर्कन बाध्य भइन् । पैसा कमाउने अनि आरामको जिन्दगी जिउने सपनासँगै दलालको प्रलोभनमा परेर कोरिया आएकी रिनाले कोरिया आएपछि कल्पना र यथार्थ बिचको खाडल भयंकर भएको महशुस गरिन् ।
‘भाषा, रहन सहन, संस्कृति, खानपान कुनै कुरामा मेल नखाने त्यहिमाथि उमेर ढल्केको कोरियन पुरुषसँग विवाह गरी यहाँ आउनु नै मेरो ठुलो भूल भयो ।’ ‘दाई, मेरो बारेमा कतै नभनिदिनु होला है । नेपालमा घरतिर कसैले थाहा पाए भने मेरो बेइज्जत हुन्छ । मर्नु न बाँच्नु हुन्छु,’ केही समय अघि स्थानीय प्रहरी कार्यलयमा पुगेका नेपाली भाषा अनुवादक मुक्त गुरुङ समक्ष गुनासो पौख्दै थिइन् ।
सामाजिक सञ्जालहरुमा देखिने सफा र सुन्दर ठाउँ, लोभलाग्दा पहिरन, अग्लाअग्ला महल र चिल्ला सडकमा खिचिएका तस्विर, आकर्षक कमाइको कुराले जोसुकै नेपालीलाई कोरिया मोहले लोभ्याउने गर्छ । त्यहि लोभ्याइमा परेर म्यारिज ब्युरोमार्फत् मोटो रकम तिरेर कहिल्यै नदेखेको नचिनेको विदेशीसँग नेपाली महिला फस्ने गरेका छन् । ललितपुरकी रिना पनि कोरिया जाने र पैसा कमाउने चाहनामा २३ वर्षको जवानीमै कोरिया पुगिन् ।
‘दुई वर्षको भिषा भइहाल्छ । त्यसपछि त्यहाँको नागरिकताको लागि आवेदन दिन पाइन्छ । नागरिकता पाएपछि श्रीमानलाई डिभोर्स दिएर बसे पनि भो यदि सुरुमै बस्न मन नलागे कोरिया पुगेर भागे नि हुन्छ’ भनेर म्यारिज ब्युरोका दलालले सपना देखाएपछि म्यारिज ब्युरोलाई मोटो रकम तिरेर कोरिया आएकी थिइन् ।
विवाह गरेर आएकी उनी किन नेपाल फर्किनु पर्यो ?
प्रहरीको हिरासतमा रहेकि रिनाका लागि भाषा अनुवादकका रुपमा पुगेका गुरुङले बेली बिस्तार लगाए । विवाह गरेर कोरिया आएपछि रिना केही समय श्रीमानसँगै बसिन् । तर भाषाको समस्या, खानपान र संस्कृति नमिले पछि मन पनि कहाँ मिल्न सक्छ र ? रिनालाई सोचे भन्दा धेरै गाह्रो भयो कोरियन लाइफ । तैपनि श्रीमानसँग हुने सानातिना झगडा सहदै बस्न बाध्य थिइन् । त्यहि बिचमा उनको छोरा पनि जन्मियो ।
समयसँगै श्रीमानको हेपाइ, तिरस्कार अनि कुटपिटले आफ्नो जिन्दगी नरकिय भएको आभाष पाइन् । वास्तविकतामा उनले सोचेको कोरिया फरक थियो । जिन्दगीदेखि नै उनलाई घृणा लागेर आयो । अन्ततः श्रीमानलाई छाडेर एक्लै बस्न थालिन् । आफुले काम गर्ने कम्पनीको एक कोरियन नागरिकसँगको मायामा फसिन् । तर त्यहि माया उनको जीवनमा काल बनेर आयो र उनी नेपाल फर्कन बाध्य भइन् । सँगै काम गर्ने कोरियनले केही समय रिनालाई राम्रै गर्यो साथ दियो तर पछि उक्त कोरियन अर्कै कोरियन महिलासँग लागेपछि उनीहरुबिच झगडा भयो । त्यहि रिसमा कोरियनले प्रहरी बोलाएर रिनालाई पक्राउन लगायो ।
भाषाको कमि, ज्ञानको अभाव र भिषासम्वन्धि जानकारी नभएकोले पहिलो लोग्नेलाई छाडे पछि अबैधानिक बन्न पुगेको भाषा अनुवादक मुक्त गुरुङ बताउँछन् । भन्छन्, ‘बच्चा भएपछि श्रीमान खराव भएपनि उनले जानेको भए कोरियामा बैधानिक रुपमै बस्न पाउथिन् । कोरियन श्रीमानबाट जन्मेका छोराछोरी भएपछि आफ्नो गल्ती छैन भने कोरियान सरकारले नै उनको पक्षमा वकालत गरिदिन्छ । कोरियामा बच्चा भएको विदेशी महिलाले नागरिकता नपाए पनि भिषा सजिलै पाउँछन् । महिनाको १, २ पटक बच्चा हेर्न पाउने महिलाको अधिकार हुने गर्छ ।’
गुरुङ भन्छन्, ‘तर उनी अबैधानिक भइसकेकोले गाह्रो भयो । उनले आफ्नो लोग्नेबाट घरेलु हिंसामा परेको रिपोर्ट प्रमाण सहित स्थानीय पुलिस वा सरकारी निकायबाट सञ्चालित बहुसाँस्कृतिक सहायता केन्द्र (धामुन्ह्वा सेन्टर) मा उजुरी गरेको भए नागरिकता नभए पनि ग्रीन कार्ड सजिलै पाउथिन् । बेलैमा बुद्धि पुर्याएको भए उनी यसरी न अवैधानिक नै हुनुपथ्र्यो नत नेपाल नै फर्किनु पथ्र्यो ।’
२०१५ डिसेम्बर १२ तारिखसम्म उनको भिषा अवधि थियो । पहिलो श्रीमानले उनलाई घरबाट निकालिदिएको र आफूखुशी डिभोर्स पेपर पनि बनाएको रहेछ । भिषा भइन्जेल त समस्या भएन त्यसपछि कता के गर्ने उनलाई जानकारी नभएकोले उनी अबैधानिक बन्न पुगिन् । उनी अवैधानिक भएकै कारण २ वर्षसम्म कोरिया आउन नपाउने तर वर्तमान कानुनमा कुनै परिवर्तन नभए बच्चाको कारणले २ वर्षपछि भने कोरिया आउन पाउने गरी सोही अनुसारको व्यवस्था मिलाई कागजपत्र बनाएर सहयोग गरेका छन् गुरुङले ।
हाल नेपाल सरकारले वैवाहिक भिषामार्फत् कोरिया जाने नेपालीहरुको लागि कडाइ गरेपनि नेपाली चेलीहरु कोरिया आउने क्रम नरोकिएको गुरुङ बताउँछन् । उनी भन्छन्, ‘भारतको बाटो हुँदै बैवाहिक भिषामा कोरिया आउने नेपाली चेलीहरु प्रसस्तै छन् । साच्चिकै विवाह नै गर्ने सोचले कोरिया आउने हो भने विवाह गर्ने व्यक्तिको बारेमा राम्ररी बुझेर कोरियन भाषा र संस्कृतिको ज्ञान लिएर मात्र आउनुहोला ।’ अरुको देखेर सुनेर कुनै पनि लोभ, लालच र प्रलोभनमा परि विदेशी पुरुषसँग विवाह गरेर नआउन उनी सल्लाह दिन्छन् । 

1 comment:

please give your views

Achyut . Powered by Blogger.